रौतहट , २० चैत //
अत्यावश्यक बाहेकको अवस्थामा पम्पहरुमा लाइन नलाग्न नेपाल आयल निगमले सर्वसाधारणलाई आग्रह गरेको छ ।
देशभरका डिपोहरु खुला गरिसकेको र ढुवानी सुरु भएकाले अब सजिलै पेट्रोलियम पदार्थ पाइने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।
उनले आत्तिएर पेट्रोलियम पदार्थको सञ्चिती नगर्न पनि आग्रह गरेका छन् ।
दुई दिनसम्म पेट्रोलको ढुवानी नभएकाले अहिले केही पेट्रोल पम्पमा तेल अभाव भएपनि बेलुकादेखि त्यो अवस्था हट्ने उनले दाबी गरे।
शनिबार साँझ नेपाल आयल निगम र आन्दोलनरत ढुवानी व्यवसायीबीच सहमति भएसँगै आज ( आइतबार )देखि पेट्रोलियम पदार्थको कोरोबार नियमित हुने प्रवक्ता उपाध्यायले जानकारी गराए।
कमिसन वृद्धि गर्नुपर्ने माग राख्दै करिब दुई सातादेखि आन्दोलित ढुवानी व्यवसायीले शुक्रबार देखि पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेका थिए।