धनुषा , १४ चैत //
मधेश सरकारले धनुषाका १०५ सहिद परिवारलाई आर्थिक सहयोग गरेको छ ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेको मधेस मधेशी सहिद प्रतिष्ठान मार्फत तत्कालिन नेकपा माओवादी केन्द्रको दश वर्षे जनयुद्धका १०५ सहिद परिवारलाई आर्थिक सहयोग गरेको हो ।
आइतबार मधेश भवनमा आयोजित सो कार्यक्रममा आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साह, राज्यमन्त्री रुवी कर्ण र नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री मातृका प्रसाद यादवले सहिद परिवारहरुलाई नगद १-१ लाखको चेकसहित सम्मानपत्र प्रदान गरेका हुन् ।
धनुषामा मात्र माओवादी जनयुद्धका क्रममा राज्य पक्षबाट १ सय १८ जना मारिएका थिए । करिब सबै सहिद परिवारलाई मधेश प्रदेश सरकारले पहिलो चरणमा १ लाखको दरले रकम प्रदान गरेको मन्त्रालयले जनाएको छ ।
कार्यक्रमका सभापति मन्त्री साहले पहिलो चरणमा ८ वटै जिल्लामा जनयुद्ध सहिदका परिवारलाई १ लाखका दरले राहत प्रदान गरेको बताए । उनले प्रदेश सरकारले सहिद परिवारलाई न्यून शुल्कमा उपचार, आश्रित परिवारका सन्तानलाई छात्रवृत्ति तथा अन्य सहयोगको कार्यक्रमहरू सञ्चालन गर्ने पक्षमा सरकार रहेको जानकारी दिए ।