पर्सा , १४ चैत //
पर्स चोरी गरेर त्यसमा रहेको खाली चेकमा रकम भरी बैंकबाट पैसा झिक्ने एकजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका-१२ पदमपोखरी निवासी ३३ वर्षीय मनोज तामाङ रहेका छन् ।
आफ्नो भाईको विवाहमा सहभागी हुन गत फागुन २३ गते वीरगञ्ज आएका भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका-८ निवासी ३४ वर्षीया सञ्जू महर्जनको तामाङले बसपार्क नजिकै पर्स चोरी गरि महर्जनले हस्ताक्षर गरेको हिमालयन बैंकको चेकमा तामाङले २ लाख रुपैयाँ रकम भरी पैसा झिकेर विभिन्न सामग्रीसमेत खरिद गरको पर्सा प्रहरीले जनाएको छ ।
तामाङले रकमबाट सुनको तिलहरी, दराज लगायतका सामान खरिद गरेका थिए भने बाँकी रहेको ४९ हजार रुपैयाँ आफ्नो जिजी बैंक खातामा समेत जम्मा गरेको पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।
तामाङलाई शनिबार वीरगञ्ज-१५ बाट सामग्रीसहित नियन्त्रणमा लिइ चोरी सम्बन्धि कसूरमा अनुसन्धान अगाडि बढाइएको पर्सा प्रवक्ता खनालले जानकारी दिए।