रौतहट , २१ माघ //
विद्युत चुहावट एवं मिटर छड्के चेकिंगमा खटिएका कर्मचारीमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग गर्दै नेपाल नेपाल विद्युत प्राधिकरण रौतहट शाखाका कर्मचारीहरु आन्दोलनमा उत्रेका छन्। नेपाल विद्युत कर्मचारी युनियन, परिषद र संघले दुई दिन अघि गरिएको साँघातिक हमलाको विरुद्धमा विज्ञप्ती जारी गर्दै शुक्रबार देखि आन्दोलन गरेका हुन्।
गत मंगलवार नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गौरबाट विद्युत चुहावट एवं मिटर छड्के चेकिंगमा खिटएका कर्मचारीलाई राजदेवी नगरपालिका वडा नम्वर ७ मुडबलवामा साघाँतिक हमला गरिएदा पाँच जना कर्मचारी घाईते भएका थिए ।
नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको एकाई अध्यक्ष संदिपकुमार सिंह, सचिव प्रभुनाथ वैठा, नेविप्रा कर्मचारी संघको सदस्य धर्मेन्द्र पासवान, नेविप्रा कर्मचारी परिषदका सदस्य शैलेन्द्रप्रसाद सिंह र दैनिक ज्यालादारीमा कार्यरत चालक गेगप्रसाद यादव घाइते भएका हुन् ।घाईते मध्ये प्रभुनाथ वैठाको दाहिने हात भाँचिएर सुर्या अस्पताल विरगंजमा उपचार भइरहेको युनियनको एकाई अध्यक्ष संदिपकुमार सिंहले जानकारी दिए। चालक, शैलेन्द्रको दाहिने हतकेला भाँचिएको छ र अन्य सामान्य घाईते हुँदा पनि स्थानीय प्रहरी प्रशासनले हमला गर्नेहरु मध्ये मात्रै एक जनालाई नियन्त्रणमा लिएको गुनासो गरेका छन्।
राजदेवी नपा ७ मुडवलवा स्थित लालबाबु साहले संचालन गरेको हाँस फारममा विद्युत हुकिंग गरेर विद्युत चुहावट गरिरहेको चेकजाँच गर्दा साह सहित १० जनाले विद्युत कर्मचारी माथि लाठी र भाठाले साँघातिक हमला गर्दा पाँच जना घाईते भएको नेविप्रा कर्मचारी युनियनले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गौरको प्रमुख विजय महतोले नियमित चेकजाँच एवं ब्लैकलिष्ट भएका ग्राहकको मिटर खोल्न गएको वेला हाँस फारममा हुकिंग गरेर चुहावट गर्दै गरेको अवस्थामा हाँस फारम संचालकलाई सम्झाउन खोज्दा त्यहाँ उपस्थित रहेका ८र१० जनाले साँघातिक हमला गराएको घटना अत्यन्तै निन्दनिय रहेको बताए ।
यस सम्बन्धमा प्राधिकरणको कानुनी शाखा र प्रादेशिक शाखामा पत्राचार गरिसकेको हुँदा त्यसको आधारमा कारवाही एवं कानुनी प्रक्रिया प्राधिकरणबाट अघि बढाउने प्रमुख बताए ।
आक्रमण गर्ने व्यक्तिहरु माथि ज्यानमार्ने उद्योगमा मुद्दा चलाउनुपर्ने अन्यथा शुक्रवार विद्युत प्राधिकरण वितरण केन्द्र गौरमा १० बजे देखि १ घण्टा हातमा कालोपर्टी बाँधेर महसुल काउण्टर बाहेक अन्य सेवा ठप्प गरेर पेनडाउन गर्ने, आईतवार २ घण्टा हातमा कालो पर्टी बाँधेर पेनडाउन गर्ने तथा माघ २४ गते सोमवार देखि इमरजेन्सि सेवा बाहेक वितरण केन्द्र प्रमुख र प्रशासनीक कोठामा ताला लगाएर सम्पुर्ण सेवा अनिश्चितकाल सम्मको लागि बन्द गर्ने चेतावनी विज्ञप्तीमा उल्लेख छ।
यता जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विनोद घिमिरेले विद्युत कर्मचारी माथि आक्रमण गर्ने मध्ये एक जनालाई नियन्त्रणमा लिइसकेको र उनी माथि अभद्र मुद्दामा १० दिनका आज म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको बताउदै घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजिकार्य गरिरहेको जानकारी दिए।