काठमाण्डौ २२ माघ / एनसेल प्रशासन बाट कर्मचारीहरु माथी सुनियोजीत तवर बाट दुर्व्यवहार र महिनौ सम्म तलव नदिएको भन्दै एनसेल कर्मचारी ट्रेड युनियन ले आपत्ती जनाएको छ ।
शनिवार एक बिज्ञप्ती निकालेर महिनौ सम्म तलव, भत्ता,सेवा सुबिधामा अंकुस लगाएको भन्दै युनियनले आपत्ती जनाएको हो ।
एनसेल आजियटा लिमिटेडमा रहेको आधिकारिक ट्रेड युनियन एनसेल कर्मचारी ट्रेड युनियन र एनसेल व्यवस्थापनबीच मिति २०७७ चैत्र २३ मा सामूहिक सौदाबाजीकालागि कर्मचारीहरुबाट जायज मागहरु संकलन गरी व्यवस्थापन पक्षलाई बुझाए पश्चात आन्तरिक छलफलहरु भएर पनि निष्कर्षमा नपुगेपछि सो वार्ता श्रम कार्यालय हुँदै श्रम मन्त्रालयसम्म पुगेको थियो ।
युनियनले आन्तरिक रुपमा गरिएका छलफलहरु विफल भएको अवस्थामा सामूहिक सौदाबाजीलाई सकारात्मक दिशामा अगाडि बढाउने उद्देश्यले कानुनमा रहेको व्यवस्था बमोजिम अत्यावश्यकीय सेवामा अवरोध नपुर्याई सांकेतिक तथा शान्तिपूर्ण धर्नाको कार्यक्रम विगत केही महिनादेखि गर्दै आएको थियो ।
यसबीचमा सामूहिक सौदाबाजीको दौरान विगतको सामूहिक सौदाबाजीमा भए गरेका सहमति विपरीत कर्मचारीलाई निष्काशन गर्ने, अनाधिकृत रूपमा सरुवा गर्ने तथा व्यवस्थापनको उपल्लो दर्जामा रहेका कर्मचारीहरुले मातहतका कर्मचारीहरुलाई युनियनमा आवद्ध नहुन र युनियनका गतिविधि तथा कार्यक्रमहरुमा उपस्थिति नजनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दबाब दिदै भय को वातावरण सिर्जना गर्ने जस्ता क्रियाकलाप गर्दै आएको बिज्ञप्तिमा उल्लेख छ ।
माघ २१ गते सामूहिक सौदाबाजी वार्ता गर्न भनी कर्मचारीलाई कार्यालयमा बोलाइएको र सँगसँगै प्रहरी प्रशासन पनि बोलाई कर्मचारीलाई भय र दबाबमा राख्ने काम भएको युनियनले जनाएको छ ।
कार्यालय समय पश्चात कर्मचारीहरु कार्यालय परिसर भित्र शान्तिपूर्ण धर्नामा बसेकाहरुलाइ प्रहरीलाई कार्यालय परिसर भित्र बोलाई कर्मचारीलाइ धर्ना मा बस्न नदिएको प्रति एनसेल कर्मचारी ट्रेड युनियन का अध्यक्ष सुकान्त अधिकारी तथा महासचिव बिजय राज महतले शनिवार सयुक्त रुपमा बिज्ञप्ति निकालेर सो कार्यको आपत्ती जनाएका हुन ।