सर्लाही , २५ माघ //
गत शुक्रबार र शनिबार परेको बेमौसमी बर्षाका कारण काँचो इँटा गलेको भन्दै क्षतिपूर्तिको माग गर्दै सर्लाही इँटा उद्योग व्यवसायी संघले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालय सर्लाही पुगेर ईँट्टा व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई ज्ञापनपत्र बुझाएका हुन् ।
बेमौसमी बर्षाले सर्लाहीमा करिब ११ करोड काँचो इँटा गलेर नष्ट भएको व्यबसायीले बताएका छन्। मलंगवामा बसेको व्यबसायीहरुको बैठकले ५ सुत्रीय माग राख्दै प्रजिअ गौतमलाई ज्ञापनपत्र बुझाएको हो ।
बेमौसमी वर्षाको कारण इँटा उद्योगमा भएको क्षतिको यकिन गरी क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, गैर कानुनीरुपले संचालनमा रहेको चेदरा भट्टाहरु यथासिघ्र बन्द गर्नुपर्ने वा कानुनी दायरामा ल्याउनुपर्ने, कच्चा ईँट्टाको बिमा गर्न बिमा कम्पनी तथा उद्योगीहरुको बीचमा सहजीकरण गर्नुपर्ने , कर मिनाहा गर्न सिफारिस गर्नुपर्ने र सहुलीयत ब्याज दरमा बैंक ऋणको व्यवस्था गर्नुपर्ने संघका सचिव भगवान मैनालीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
बेमौसिम झरीका कारण जिल्लामा रहेको ९३ वटा उद्योगमा करिब ११ करोड काँचो इँटा गलेर नष्ट भएको संघका अध्यक्ष मेथुर चौधरीले जानकारी दिए।