रौतहट , १९ माघ //
मधेस प्रदेश सरकारले समयमा रूख कटान गर्न स्वीकृति नदिंदा रौतहटको पूर्वपश्चिम रेलमार्ग निर्माणमा प्रभावित बनेको छ ।समयमै स्वीकृति नपाउँदा रेलवे ट्र्याक खोल्ने कम सम्पन्न हुन नसकेको हो।
वाग्मती–धन्सार खण्डमा पर्ने ५ हजार २ सय ९७ रूख कटानका लागि छपानसमेत भएर प्रदेश सरकारको वन मन्त्रालयमा फाइल पुगेको दुई वर्ष भइसक्यो । तर, मन्त्रालयले भने फाइल पठाउने डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरलाई नै निर्णय लिने जिम्मेवारी दिएको छ ।
डिभिजन वन आफैंले भने निर्णय लिन नसकेका कारण काम प्रभावित भएको निर्माण कम्पनीले जनाएको छ ।
डिभिजन वनले २०७६ कात्तिक २८ मा फाइल पठाएको थियो । उक्त खण्डको प्याकेज १, ४ र ५ मा साल, कुकाठ जातको रूख काटेर ट्र्याक खोल्नुपर्ने छ ।
प्रदेश सरकारबाट सबै काम डिभिजनले नै गर्ने भनेर पठाएको डिभिजन वन निमित्त प्रमुख अमरदेव यादवले बताए।
निर्माणको ठेक्का यही माघ मसान्तमा सकिँदै छ।