महोत्तरी , ११ फागुन //
महोत्तरी कारागारका अधिकांश कैदी–थुनुवा चर्मरोगबाट पीडित भएका छन् ।
महोत्तरीमा कारागारको क्षमताभन्दा बढी कैदी–थुनुवा भएका कारण नियमित सरसफाइ नहुँदा उनीहरुमा चर्मरोग (छालासम्बन्धी रोग) को समस्या देखिएको हो ।
सानो ठाउँमा कोच्चिएर बस्नुपर्ने र कैदी–थुनुवा कक्षमा फोहर बढेपछि चर्मरोगको समस्या बढेको कैदीहरु बताउँछन्।कोचाकोच भएर बस्नुपरेकोले जिउभरि खटिरा आएको एक कैदीले गुनासो गरे।
एक सय ३५ कैदी–थुनुवा राख्न मिल्ने क्षमताको कारागारमा अहिले १९४ कैदी र ३७६ थुनुवा रहेका छन् । पुरुष र महिलाको छुट्टाछुट्टै कक्ष छ। पुरुष कक्षमा १७९ कैदी र ३४६ थुनुवा छन् । महिला कक्षमा १५ कैदी र ३२ थुनुवा रहेका जेलर अशोककुमार क्षेत्रीले जानकारी दिए ।
महिला कक्षमा आमाका साथमा रहेका पाँच वर्षमुनिका ६ बालक र तीन बालिका रहेको उनले बताए । दिनहुँ बढ्ने कैदी–थुनुवाको चापले सबैको ठिक समयमा स्वास्थ्य जाँच, नियमित उपचार र आवश्यक स्याहार गर्न नसकिएको क्षेत्रीले बताए।