फणि महत /रौतहट १९ माघ ।
आज अर्थात बुधवार विश्व सिमसार दिवस हो । नेपालमा यस बर्ष ‘दलदल, पानी, पोखरी र खोला, संरक्षण गरे सर्वहित होला भन्ने नारा यो दिवस मनाइएको छ ।
बर्षेनी दिवस मनाइरहदा रौतहटको चन्द्रपुरमा रहेको सिमसार भने मासिदै गएको छ ।
अतिक्रमणका कारण रौतहटको चन्द्रपुर नपा ८मा रहेको मरधर सिमसार क्षेत्र सांघुरिदै गएको छ ।
२० वर्ष अघि सम्म १५ फिट गहिरो रहेको तथा पाच सय मिटर भन्दा बढी लम्वाइ रहेको मरधर सिमसार क्षेत्र साँघुरिदै र पुरिदै गएको हो ।
चन्द्रनिगाहपुर चौक देखि करीव ४ किलो मिटर दक्षिण पुर्वमा रहेको मरधर सिमसार क्षेत्र करिब दुईसय बर्ष पुरानो भएको अनुमान स्थानियबासीको छ ।
पहिले २० हेक्टर भन्दा बढी क्षेत्रफल ओगटेको यस सिमसार क्षेत्रको अहिले करिव १० बिगाह क्षेत्रफलमा सिमित हुन पुगेको छ ।
दुर्लभ चराहरु सारस, पानीहाँस, झिल्ला लगाएतका चराहरु र साईबेरियन चराहरु पनि यस सिमसार क्षेत्रमा पहिले पहिले धेरै देखिने गरेको तर पछिल्लो दिनहरुमा सिमसार अतिक्रमण र चराहरुको शिकार गर्नाले देखिन छाडेका छन ।
सिमसार क्षेत्रको बिकास र संरक्षण तथा प्रचारप्रसार गर्न मरथर जलाधार संरक्षण तथा बिकास समितिको गठन गरिएको थियो तर त्यस समितीले प्रभावकारी काम गरेको देखिदैन ।
कहीबर्ष अघि सम्म सिमसार संरक्षण समितीले अतिक्रमण रोक्न प्रयास गरेपनि अतिक्रमण रोकिएको छैन । सिमसारले ओगटेको जमिन व्यक्तिको नाममा समेत २०४५ सालमा दर्ता भएको र सार्वजनिक जमिन केहि व्यक्तिले अतिक्रमण समेत गरेका मरधरका केही स्थानियले बताएका छन ।
केही बर्ष अघिसम्म सिम्रौनगढ पर्यटन बिकास समितीले हरेक बर्ष रकम निकासा गर्दै आएपनि सो रकमले ठोस काम भएको देखिदैन । नगरपालिका तथा अन्य निकायले सिमसार क्षेत्र सरक्षणका लागी बर्षेनी योजनाहरु संचालन गरेपनि प्रभावकारी काम नभएको व्यापक गुनासो उठ्दै आएको छ ।
सिमसार भनेको पानीका स्रोत हो तर, पानीको श्रोतको संरक्षणमा ध्यान पुग्न सकेको छैन ।
नेपालमा ताल , नदी, जलाशय, धाप, कुण्ड, गरी ६ प्रकारका सिमसार छन ।
सिमसार क्षेत्र भन्नाले प्राकृतिक अथवा कृत्रिम रूपले स्थायी वा अस्थायी रूपमा पानीले र दलदलले ढाकेको पानी बग्ने दलदल, धाप, जरुवा रहेको क्षेत्र लाइ बुझाउछ ।
नेपालको राष्ट्रिय सिमसार नीति २०६९ अनुसार सिमसार भनेको पानी जमेको वा बगेको, स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिम रूपमा बनेको क्षेत्र हो ।
जलवायु परिवर्तनका कारण पनि सिमसार क्षेत्र सुक्दै गएको बिज्ञहरुको बुझाइ छ । तर मुख्य कारण अतिक्रमण नै भएको उनीहरुको भनाइ छ ।
नेपालका १० सिमसार क्षेत्र अन्र्तराष्ट्रिय महत्वको रामसारमा सूचीकृत छन । करीव ६० हजार हेक्टर क्षेत्र रामसारमा पर्दछ
सिमसार संरक्षण र व्यवस्थापनका लागि विभिन्न नीति निमार्ण भएको छ । जलचर संरक्षण ऐन २०१७, जलस्रोत ऐन २०४९, वन ऐन २०४९, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९, भू तथा जलाधार संरक्षण ऐन २०३९, वातावरण संरक्षण ऐन २०५३ र राष्ट्रिय सिमसार नीति २०६९ हरु रहेपनि मरधर सिमसार संरक्षण हुन सकेको छैन ।
सिमसार संरक्षणमा सहरोकारवाला निकायले ठोस योजना ल्याउनु पर्ने आवश्यकता रहेको माग रहेको छ ।