सर्लाही , १९ माघ //
रौतहटको चर्चित पर्यटकीय स्थल नुनथरको छेउमा फनपार्क बन्ने भएको छ। सर्लाहीको बागमती नगरपालिकाले नदीको पूर्वी किनारमा पर्यटकलाई आकर्षक गन्तव्य दिन फनपार्कमा ठूलो लगानी गरेको छ।
नुनथरको छेउमा तटबन्ध निर्माणका साथै ठूलो होटल र अन्य सुविधासहितको फनपार्क निर्माण हुन लागेको हो।
बागमती नदीमा आउने बाढीको पानीले नदी किनारलाई हानि गर्ने हुनाले व्यवस्थित रुपमा दश करोडको लगानीमा पक्की तटबन्धको निर्माण भइरहेको बागमती नगरपालिका प्रमुख भरतकुमार थापाले जानकारी दिए।
फनपार्कको लागि पाँच बिगाहा जमिनको व्यवस्थापन गरिएको र बागमतीमा रहेको प्रहरी चौकीको अगाडिबाट फनपार्कसम्म पुग्ने सडकको पनि व्यवस्थापन भइसकेको बताइएको छ।
चालू आर्थिक वर्षमा सडक पनि पूर्णरुपमा निर्माण भइसक्ने लक्ष्य लिएर काम भइरहेको बताउँदै नगर प्रमुख थापाले देश र विदेशका पर्यटकलाई आकर्षित गर्न सुव्यवस्थित फनपार्कको निर्माण गरिन थालिएको जानकारी दिए।
रौतहटमा रहेको नुनथरमा वर्षेनी लाखौँ पर्यटक आउने गरेकाले नेपाल र भारतका पर्यटकलाई सुविधा सम्पन्न फनपार्क उपलब्ध गराउँदा झन् धेरै पर्यटक आकर्षण हुने विश्वास लिएको नगर प्रमुख थापाको भनाइ छ।
अहिले नै निजी क्षेत्रबाट एउटा रिसोर्टको पनि निर्माण हुन थालेको देखिएको छ। नगरपालिकाले निर्माण गरिरहेको फनपार्क क्षेत्रमा केही बस्ती पनि रहेकोले सबैलाई उचित व्यवस्थापन गरिसकिएको र फनपार्क निर्माणमा देखिएका बाधाहरुलाई पनि हटाइसकिएकोले आगामी एक वर्षमा फनपार्क पूर्ण रुपमा व्यवस्थित भइसक्ने नगर प्रमुख थापाले जनाए ।
फनपार्क निर्माणपछि हजारौँले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाउने बताउँदै नगर प्रमुख थापाले फनपार्कबाट भरततालसम्म केवलकार चलाउने र फनपार्कभन्दा माथि चुरेको डाँडामा गौतम बुद्धको प्रतिमा राखिने जानकारी गराएका छन्।
फनपार्कको निर्माणले रौतहटको नुनथरको पनि पर्यटनमा टेवा पुग्ने विश्वास रहेको छ।