सर्लाही , २० माघ //
बागमती सिँचाई आयोजनाको नहरमा आउने पानीले निकास नपाउँदा स्थानीय किसानको गहुँ बाली डुबानमा परेको छ ।
सर्लाहीको कविलासी नगरपालिका–५, पचगछियामा नहरमा आउने पानीले निकास नपाउँदा सयौं किसानको गहुँ बाली डुबानमा परेको हो।
केही समयअघि सिर्सियाबाट बरहथवातर्फ जाने सडक विस्तारका क्रममा नहरको कल्भर्ड भत्किएपछि पानीको निकास रोकिएको थियो ।
निकास बन्द भएर नहरको पानी लगातार खेतमा आएर पसेपछि त्यहाँका सयौं किसानको गहुँ बाली डुबानमा परेको स्थानीय शिक्षक उमाकान्त यादवले जानकारी दिए ।
किसानको समस्याबारे नगरप्रमुख र वडाध्यक्षलाई बारम्बार जानकारी गराउँदा समेत कुनै वास्ता नगरेको भन्दै किसानहरुले गुनासो गरिरहेका उनले बताए ।