रौतहट १६ फागुन / पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार रौतहट आउँदै छन्।
एमाले अध्यक्ष ओलीलाई स्वागत गर्न भव्य तयारी गरिरहेकाे मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साहले जानकारी दिएकी छिन्।
अध्यक्ष ओलीले मधानी महायज्ञको उद्घाटन गर्ने कार्यक्रम रहेको नगर प्रमुख साहले बताइन्।
हजारौ वर्ष पुरानो पुरातात्विक महादेव मन्दिर केही वर्षअघि मौलापुर ५ पतौरास्थित स्थानीयले खेत खन्ने क्रममा भेटेका थिए ।
एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री प्रभु साहको पहलमा पुरातत्व विभागद्वारा उक्त मन्दिरको उत्खनन गर्दा सुरुमा महादेव मन्दिर १३औं शताब्दीभन्दा पहिलेको रहेको ठहर गरिएको थियो। पछि मन्दिरमा विभागले गौतम बुद्धको जन्मभूमि लुम्बिनी तिलौराकोटमा भेटिएका अवशेषसँग मिल्दो अवशेष भेटेपछि मन्दिर २ हजार वर्षभन्दा पुरानो रहेको अनुमान गर्दै थप उत्खनन र अनुशन्धान जारी राखेको छ।
मौलापुर नगरपालिकाकी नगर प्रमुख रीनाकुमारी साहको पहलमा उक्त महादेव मन्दिरलाई व्यवस्थित गरी महाशिवरात्रिको अवसरमा पछिल्लो तीन वर्षदेखि मधानी महायज्ञ आयोजना हुँदै आएको छ।
मधानी महायज्ञको पहिलो वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गरिएको थियो भने गत वर्ष तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेल को प्रमुख अतिथ्यता रहेको थियो ।
महायज्ञको अवसरमा मौलापुरमा महादेव मन्दिरमा सर्लाही, बारा, रौतहटलगायत सीमावर्ती भारतीय क्षेत्रबाट हजारौँ भक्तजन जल चढाउन आउने गर्दछन्।
उक्त महायज्ञ मा चर्चित नेपाली कलाकार राजेश हमाल तथा भारतिय कलाकार लगायतकाहरुले पनि सहभागि हुने छन ।