रौतहट , २४ माघ //
बाघ गणनाका लागि राखिएको क्यामेरा रौहतटको बनबाट चोरी भएको छ।
जिल्लाका बनहरुमा बाघ गणना गर्न राखिएका ६ वटा क्यामेरा चोरी भएको हो।
त्यस्तै केही क्यामेरा कामै नलाग्ने गरी फुटाएको अवस्थामा भेटिएको छ । चाँदी खोलादेखि बागमती खोलाको बीचको जंगलमा राखिएका ४ वटा क्यामेरा हराएको वन्यजन्तु प्राविधिक टिकाराम थारुले बताए।
त्यसैगरी पौराइ नजिकै राखिएको एउटा क्यामेराबाट मेमोरी कार्डमात्र चोरेर लगेको उनले बताए । पौराई क्षेत्रमा बढि बाघको आवतजावत हुने स्थानकै क्यामेरा चोरी भएकाले बाघ गणनालाई असर पार्ने उनले चिन्ता व्यक्त गरे ।
त्यसैगरी एकसेट क्यामेरा झाँडीमा फालेको अवस्थामा भेटिएको र एकवटा क्यामेरा भने निकालेर उल्टो पारेर बाँधिएको थारुले जानकारी दिए ।
रौतहट , बारा तथा पर्साका जंगलहरुबाट हालसम्म २ दर्जनभन्दा बढि क्यामेरा चोरी भइसकेको छ भने शुक्रबारदेखि क्यामेरा संकलन गर्न सुरु गरिएकाले यो संख्या अझै बढ्न सक्नेछ ।
थारुले सो क्यामेरा पूर्ण अटोमेटिक भएकाले सर्वसाधरणलागि फोटो, भिडियो खिच्न कुनै काम नलाग्ने भन्दै कसैले फिर्ता गरिदिए कारवाही नगर्ने बरु धन्यवाद दिने बताए ।
रौतहटको जंगलमा सन् २०१८ मा बाघ गणना गरिएकोमा एकवटा बाघ पनि नदेखिएकोमा गत वर्ष ४ वटा बाघ फेला परेको डिभिजन वन कार्यालयका प्रमुख अमरदेव यादवले जानकारी दिए ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसार रौहतटको जंगलमा मात्र बाघ गणना गर्न १ सय २२ वटा क्यामेरा जडान गरिएको थियो ।राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक सहयोग निकुञ्ज विभागको नेतृत्व एवम् डिभिजन वन कार्याल , डब्लुडब्लुएफ नेपाल, जेडएसएल नेपालको सहयोगमा रौहतटका जंगलहरुमा माघ ४ गतेदेखि क्यामेरा ट्यापिङ्गको सहयोगमा बाघ गणना सुरु गरिएको हो ।
वनमा बाघ गणनाका लागि माघ ४ गतेदेखि क्यामेरा जडान गरेको थियो । यसरी जंगलमा राखिएका क्यामेराहरु १५ दिनसम्म जंगलमा राखिने र त्यसपछि सबै संकलन गरेर तथ्याङ्क विश्लेषण गरेर बाघ गनिने राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र चितवनका प्रमख डा। बाबुराम लामिछानेले बताए ।