सिरहा , २४ माघ //
सिरहामा नक्कली प्रहरीलाई सक्कली प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिनाको नेतृत्वमा खटेको प्रहरी टोलीले सिरहाबाट नक्कली इन्सपेक्टर झापाको गौरादह नगरपालिका वडा नम्बर १ घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर ४ मण्डिखाटार बस्दै आएका ३२ वर्षीय अशिम गुरुङ लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।
सिरहा नगरपालिका वडा नम्बर ७ स्थित युवराज डिलक्सको बस काउण्टरमा प्रहरी हुँ भनि धम्काउने गुरुङको साथबाट नाइट्रोभेट–१० लेखिएको ३९ पिस ट्याब्लेट, स्पास्मो प्रोक्सिवन प्लस २२ पिस बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवाष बुढाथोकीले जानकारी दिए ।
त्यस्तै प्रहरी निरीक्षक अशिम गुरुङ लेखिएको नेपाल प्रहरीको नक्कली परिचय पत्र, नक्कली रिभल्वर १ थान, रिभल्वर राख्ने होलस्टर १ थान, ड्याईगन चक्कु १ थान, साइरास्याङ्गबो र अशिम गुरुङ लेखिएको मेटल नेम प्लेट २ थान, मोबाईल २ थान, चेकबुक, एटिएम कार्ड, अशिम गुरुङ नामको नेपाली नागरिकताको फोटोकपी, नेपाली रुपैयाँ ३ हजार र एनसेलको ३ वटा सिम बरामद गरेको उनले बताए ।