रौतहट , ११ फागुन //
चन्द्रपुर ३ गैडाटारमा आँखा शिविर सम्पन्न भएको छ ।मंगलबार अखिल नेपाल महिला संघ चन्द्रपुर नगर कमिटिको आयोजना तथा हिमालय अप्टिकल तथा चस्मा घर चन्द्रपुर ५ को प्राविधिक सहयोगमा आँखा शिविर सम्पन्न भएको हो।
सो शिविरमा १ सय ८६ जनाले आँखा परिक्षण गराएको कमिटिको संयोजक खिन कुमारी गौतम (संगिता) ले जानकारी दिइन् । उनका अनुसार १ सय ८६ जनामध्ये १० जनामा मोतियाविन्दु, ३० जनामा आँखाको एलर्जी, ७३ जनामा चस्मा लगाउनुपर्ने समस्या देखिएको छ ।
मोतियाविन्दुको समस्या देखिएकाहरुको थप उपचारको लागि संघले पहल गर्ने संयोजक गौतमले बताइन् ।राष्ट्रिय युवा संघ चन्द्रपुर नगर कमिटीका सहसचिव उमेश फुयाँलले नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवा पुर्याउने काम प्रशंसनीय भएको भन्दै यसलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए ।
चन्द्रपुर नगरपालिकामा सुविधा सम्पन्न आँखा अस्पताल नहुँदा यहाँका नागरिक उपचारको लागि बिरगंज, हेटौडा, काठमाडौँ लगायतका जिल्लाहरुमा धाउनुपर्ने वाध्यता भएकाले चन्द्रपुरमा सुविधा सम्पन्न आँखा अस्पताल खोल्न सबै मिलेर लाग्नुपर्ने जनप्रतिनिधि गोविन्द तिमिल्सिनाको भनाइ छ ।
सो कार्यक्रममा नेकपा एमाले रौतहट जिल्ला सचिव बाल बिक्रम कार्की, प्रेश चौतारी नेपाल रौतहट शाखाका सहसचिव राकेश यादव लगायतको सहभागिता रहेको थियो ।