बारा , २० पुष //
बाराबाट स्रोत नखुलेको लाखौँ रकमसहित एकजना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत, मोतिहारी जितना थानाको अगर्वा निवासी १५ वर्षीय बालक रहेको सशस्त्र प्रहरीले बल सिम्रौनगढले जनाएको छ।
सशस्त्र प्रहरीले बल सिम्रौनगढको टोलीले नम्बर प्लेट नरहेको मोटरसाइकलमा सवार भई सिम्रौनगढको कमलापुरबाट आइरहेका उक्त बालकलाई रोकी चेकजाँच गर्दा उनले लुकाएर राखेको ८ लाख रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी निरीक्षक सागर मल्लले बताएका छन्।
बालकले रकमको स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिइएको मल्लले जानकारी दिएका छन्।
उनले नोटसहित पक्राउ परेका बालकलाई वीरगञ्ज भन्सार कार्यालय बुझाउने तयारी भइरहेको बताएका छन् ।
प्रारम्भिक अनुसन्धानमा बालकले हुण्डी कारोबारको लागि उक्त रकम ल्याएको हुन सक्ने आशंका प्रहरीको छ ।