सर्लाही , २९ पुष //
सर्लाहीमा दुई जना एसपीसहित १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बुधबार जिल्ला अस्पताल मलंगवाको पीसीआर ल्याबमा स्वाब परीक्षण गर्दा सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) भरत खनियाँ, राष्ट्रिय अनुसन्धान विभागका सर्लाही प्रमुख (एसपी) चन्दन झा लगाएत १६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो।
यस्तै, जिल्ला प्रशासन कार्यालय मलंगवाका दुई जना प्रशासकीय अधिकृतलाई कोरोना संक्रमण पुष्टी भएको छ ।प्रशासकीय अधिकृत रामनरेश राम र राजकुमार थापासहित कार्यालयका ११ जना कर्मचारीमा कोरोना संक्रमण पाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए।
दुबै जना प्रशासकीय अधिकृतसहित ११ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अब कसरी कार्यालय संचालन गर्ने भन्ने नै अन्यौल भएको उनले बताए। प्रजिअ गौतमले कार्यालयको सेवा के गर्ने ? भन्ने बारेमा गृह मन्त्रालयमा समन्वय गरिरहेको गौतमले बताए ।
यस्तै, प्रमुख जिल्ला अधिकारी गौतमले बुधबार ४८ जनाको पीसीआर परीक्षण गर्दा २ जना एसपी, जिल्ला प्रशासन कार्यालयका ११ कर्मचारी र अन्य ३ जना समेत गरी १६ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिए ।
सर्लाहीमा यसअघि प्रमुख जिल्ला अधिकारी गौतम, प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाई, मलंगवा नगरपालिकाका मेयर निरसल साहमा पनि कोरोना संक्रमण पुष्टी भएको थियो । उनीहरु अहिले होम आइसोलेसन मा छन्।