रौतहट , १८ पुष //
बिहिबार परेको बर्षासंगै बढेको अत्याधिक चिसो तथा सितलहरका कारण मध्य तराईको जनजिवन प्रभावित बनेको छ। विहानै देखीको बाक्लो हुस्सुका कारण सवारी आवागमनमा समेत समस्या भएको छ ।
शितलहरका कारण जिल्लाका प्रमुख व्यापारीक बजारमा चहल पहल कम भएको छ । जाडोले विपन्न परिवार मारमा परेका छन् ।
बाक्लो हुस्सु र चिसो हावासँगै सुरु भएको शीतलहरका कारण रौतहटका जनजीवन अत्यन्त कष्टकर बन्दै गएको हो ।
मौसम बदली भई अचानक बढेको कठ्यांग्रिदो चिसोले विशेष गरी न्यानो कपडा नभएका विपन्न, दलित र सुकुम्बासी परिवार बढी प्रभावित भएका छन् ।
शरीर ढाक्ने न्यानो कपडा र रातको लागि ओढ्ने–ओछ्याउने नभएका परिवार चिसोमा कठ्याग्रिएरै बस्न बाध्य भएका हुन् ।
यसैगरि पशु चौपाया र पक्षीहरु पनि चिसोले प्रभावित भएका छन् ।न्यानो कपडा नभएको र आगो ताप्न काठ दाउरासमेत उपलब्ध नरहेको क्षेत्रका विपन्न परिवार कठ्यांग्रिएरै दिनचर्या काट्न बाध्य भएका छन् ।
यसैबीच, प्रदेशमा अत्यधिक चिसो बढेसँगै प्रदेश २ सरकारले गरिब विपन्नको लागि आवश्यक तयारी थालेको छ ।
प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जाडो प्रभावित वर्गमा कम्बल, न्यानो लुगाा तथा दाउरा वितरण गर्ने तयारी गरेको छ ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहले चिसोबाट प्रभावितलाई न्यानो लुगा र कम्बल वितरणको तयारी थालेको र केही दिनभित्रै जिल्ला जिल्लामा रहेका विपन्न वर्गलाई कम्बल वित्तरण गरिने बताए।
शीतलहरबाट जोगिन पुर्व तयारीको विषयमा प्रदेशका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँग छलफल भएको बताउदै मन्त्री साहले चिसोबाट जोगिन आवश्यक पर्ने न्यानो लुगा र दाउरा लगायतको बन्दोबस्तीमा प्रदेश सरकारले समन्वय गरिरहेको जानकारी दिए।
प्रदेश नीतिक तथा योजना आयोगको अनुसार प्रदेश २ का १५ प्रतिशत जनता चिसोबाट प्रभावित हुँदै आएका छन् ।