रौतहट , २८ पुष //
प्याब्सन प्रदेश २ को अध्यक्षमा चन्द्रनिगाहपुरका दिपक रेग्मी मनोनित भएका छन् । सिराहाको लाहानमा सम्पन्न तेस्रो प्रदेश अधिवेशनबाट अध्यक्षमा रेग्मी मनोनित भएका हुन्।
रेग्मीले महोत्तरीका राकेश कर्णलाई ३१ मतले पराजित गर्दै १ सय २७ मत हासिल गरि अध्यक्षमा चयन भएका हुन्।
त्यसैगरी सचिव पदमा धनुषाका गणेश साह धनुषाकै विश्वलाल सिंहलाई ३८ मतले पराजित गर्दै विजयी भएका छन् ।
निर्वाचन अधिकृत न्यौपानेका अनुसार साहले १ सय २९ ल्याएर विजयी हुँदा सिंहको पक्षमा ९१ मत खसेको थियो ।
सोही अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा श्याम कुमार केसी, उपाध्यक्षमा जगदीश प्रसाद साह, रिभा ठाकुर, कोषाध्यक्षमा मिरा थापा, सह–सचिवमा हरि बहादुर थापा, सह–कोषाध्यक्षमा मनोज कुमार यादव, सदस्यहरुमा सिंहेश्वर पासवान, दिल बहादुर फुयाल, राम सोगारथ साह, डा हरिशंकर प्रसाद साह, इमामुद्दिन अहमद निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।
नव निर्वाचित अध्यक्ष रेग्मीले प्रदेश नम्बर २ मा रहेका प्याव्सनमा आवद्ध विद्यालयहरुमा शैक्षिक तथा क्षमता वृद्धिको लागि एकजुट भएर लागिपर्ने प्रतिवद्धता जनाए ।
उनले प्रदेशमा रहेका आठ वटै जिल्लामा विद्यालयका संचालक र शिक्षकहरुलाई समयानुकुल क्षमता अभिवृद्धिको तालिम प्रदान गर्ने बताउदै शैक्षिक क्षेत्रमा पछाडि परेका प्रदेश नम्बर २ लाई शैक्षिक हवको रुपमा विकास गर्न सरोकारवालाहरु सँग हातेमालो गर्दै योजनावद्ध ढंगले अगाडि बड्ने जानकारी दिए ।