रौतहट , १९ पुष //
जनमत पार्टीले आजदेखि अनिश्चितकालीन रौतहट जिल्ला बन्दको घोषणा गरेको छ ।
करिब एकसाता देखि विभिन्न जिल्लामा कृषकको मुद्दा उठाएर लोकमार्ग केन्द्रित आन्दोलन गर्दै आएको सिके राउत नेतृत्वको जनमत पार्टीले सोमबारदेखि अनिश्चितकालीन रौतहट जिल्ला बन्दको घोषणा गरेको हो ।
पार्टीको जिल्ला समन्वय समिति रौतहटले आइतबार एउटा प्रेस विज्ञप्ति जारी गर्दै अनिश्चितकालीन जिल्ला बन्दको घोषणा गरेको हो।
कृषिप्रधान देश नेपालको मधेशका ९० प्रतिशत भन्दा बढी जनता कृषि पेशासँग आबद्ध छन तर किसानहरुले हरेक वर्ष बीउ विजन, मलखादको अभाव खेप्दै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
बीउ विजन , मल खाद र सिंचाईको व्यवस्था गर्न तीनै तहका सरकारसँग पटक–पटक माग गर्दा पनि वेवास्ता गरेकोले आफुहरु सडक आन्दोलन गर्न बाध्य भएको जनमत पार्टी, जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष रामेश्वर प्रसाद यादवले बताए।
बन्दका बेला खाद्य, औषधि पसल लगायतका आकस्मिक सेवामाथि कुनै प्रतिबन्ध नलगाइने बताइएको छ।