पर्सा , २८ पुष //
नेकपा एमाले पर्साको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ। नेतृत्व चयनमा सहमति नजुटेपछि अधिवेशन स्थगित भएको हो।
वीरगन्जमा मङगलबार उद्घाटन समारोह सकिएपछि नेतृत्व चयनका लागि मङगलवार राति नै बन्द सत्र सुरु भएको थियो।
एमाले वीरगन्ज महानगर कमिटीका उपाध्यक्ष महेश दासले बन्दसत्रमा नेतृत्व चयनमा सर्वसहमति हुन नसकेपछि अध्यक्ष मण्डलले सुचना टाँसेर अर्को सुचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित गरेको बताए।
उनका अनुसार बन्द सत्रमा अध्यक्ष, सचिव र कोषाध्यक्षको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरिएको थियो।नेतृत्व चयनका लागि जिल्ला अध्यक्ष प्रभु हजराको अध्यक्षतामा ५ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको थियो। अध्यक्ष मण्डलमा हजरासँगै राजकुमार गुप्ता, निर्मला देवकोटा, अरविन्द सिंह र राजनारायण थिए।
अध्यक्ष मण्डलको बैठक बसेर जिल्ला अध्यक्षमा सर्वसम्मत सहमति जुटाउने प्रयास गरिएपनि बैठकमा जिल्ला अध्यक्षका बारेमा सहमति नजुटेपछि बन्दसत्रमा आएर अध्यक्ष मण्डलका अध्यक्ष हजराले आफूले गर्ने निर्णय सर्वसम्मत रुपमा पास गरिदिन प्रस्ताव गरेका थिए।
तर बन्दसत्रमा सहभागी प्रतिनिधीहरुले सहमति नजुटे चुनावी प्रकृयामा जान माग गरेका छन्।
एमाले पर्साको अध्यक्षका लागि पूर्वसांसद विचारी यादव, जिल्ला सचिव मनोज गुप्ता, संविधानसभा सदस्य जय प्रकाश थारु, महानगर कमिटी सचिव सुन्दर कुर्मी, नेताहरु विश्वम्भर शर्मा र नवराज शर्मा गरि ६ जना आकांक्षी रहेका थिए ।