सर्लाही , २९ पुष //
सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ११ कि एक महिला वडा सदस्यलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिइएको छ ।
वडाध्यक्ष रामदुलार साह र अरु दुई जना वडा सदस्य भ्रष्टाचारको मुद्दामा निलम्बन भएपछी बुधबार बसेको नगर कार्यपालिकाको बैठकले वडा सदस्य शैलियादेवी कुमहारलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिइएको हो।
बुधबार नै नगर प्रमुख मनाेज देवकाेटाले कुमहारलाई पद तथा गाेपनियताकाे शपथ खुवाएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा मुद्दा दर्ता गरेपछि वडाध्यक्ष रामदुलार साह, वडा सदस्यहरु सोनेलाल साह रौनियार र उमेश राय निलम्बनमा परेका हुन् । अख्तियारले उच्च अदालतमा मुद्दा दायर गरेसँगै गत पुस १६ गतेबाट उनिहरु निलम्बित भएका थिए।
ईश्वरपुर नगरपालिका वडा नं. ११ को भलुवाहीमा सडक निर्माण कार्य सम्पन्न गरेपश्चात उपभोक्ता समितिसँग लिएको १ लाख ५० हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले गएको कात्तिक २९ गते वडा सदस्य सोनेलाल साह रौनियार र उमेश रायलाई लालबन्दीबाट रंगेहात पक्राउ गरेको थियो ।
अनुसन्धान गर्दै जाँदा वडाध्यक्ष रामदुलार साहको निर्देशनमा वडा सदस्य उमेश रायले घुसरकम लिएको र अर्का वडा सदस्य सोनेलाल साह रौनियारलाई राख्न दिएको खुलेको अख्तियारले जनाएको छ ।