पर्सा , ११ माघ //
गत पुष २३ गते पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ सन्ठीका नागेन्द्रप्रसाद कुर्मीका १२ वर्षीय छोरा मन्टुको हत्या गरेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोहि स्थानका ६४ वर्षीय गोवारी राउत अहिर, ५५ वर्षीय नग राउत अहिर, ३२ वर्षीय सत्रुधन प्रसाद यादव, ३० वर्षीय मनोमोहन प्रसाद यादव र २५ वर्षीय रोहण प्रसाद यादव रहेका छन् ।
मन्टुको परिवारले उनीहरुविरुद्ध दिएको किटानी जाहेरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एवं डिएसपी ओमप्रकाश खनालले जानकारी दिए। उनीहरुलाई ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले छिपहरमाई गाउँपालिका वडा नम्बर ६ भिष्वास्थित नेपाल भारत सीमाबाट माघ ८ गते पक्राउ गरिएको उनले बताए।
अभियुक्तहरुले पारिवारिक रिसइबीका कारण मन्टुको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको डिएसपी खनालले जानकारी दिए। उनका अनुसार अभियुक्त र पिडित परिवार बीच चलिरहेको फौजदारी मुद्दामा बयान परिवर्तन गर्न दवाव दिने उद्देश्यले बालकलाई अपरहण गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।
स्थानीयहरुका अनुसार दुवै परिवार बीच विचाराधीन अवस्थामा रहेको फौजदारी मुद्दामा मन्टुको परिवारमाथि दवाव बनाउन उनीहरुले सुरुमा मन्टुको अपरहण गरेपछि पहिचान खुल्ने डरले मन्टुको हत्या गरी खेतमा शव फालेका थिए ।
अभियुक्तहरुमाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दा अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद थप गरेको डिएसपी खनालले बताए ।
मन्टुको शव पुष २३ गते गाउँकै उखुबारीमा फेला परेको थियो । घटनास्थलमा पुगेको प्रहरीले बालकको अपहरणपछि हत्या भएको प्रारम्भिक अनुमान गर्दै अनुसन्धान अगाडी बढाएको थियो ।