बारा , ३ माघ //
बाराबाट ११ किलो बढीको चाँदीको गरगहनासहित १ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोतिहारी बस्ने २३ वर्षीय सुनिल गुप्ता रहेका छन् ।
विशेष सूचनाको आधारमा इलाका प्ररही कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित नेपाल टेलिकम चोकबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले बताए ।
उनका अनुसार बिरगञ्जबाट पथलैया तर्फ जाँदै गरेको ना.३३ प ८५२६ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा मोटरसाईकलको ट्याङकी भित्र फल्स बटन बनाई लुकाई छिपाई भन्सार छली ल्याएको १२ लाख ४२ हजार ९ सय ७३ मूल्य बराबरको ११ किलो ५०० ग्राम चाँदीको तयारी पाउजु, बाला, चाबि रिङ, बुट्टी तथा कल्ली सहितका गहनाहरू बरामद भएको हो।
पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाईएको बारा प्रहरीले जनाएको छ ।