रौतहट , १८ मङ्सिर //
रौतहटको चन्द्रपुर बजारमा नेपाली नक्कली नोट बाक्लै देखा पर्न थालेको छ। नक्कली हजारको नेपाली नोट चन्द्रनिगाहपुर बजारमा देखिन थालेको स्थानीय व्यापारीहरुले बताएका छन्।
स्थानीय व्यापारीहरुका अनुसार सरसरती हेर्दा सक्कली जस्तै लागेपनि निहालेर हेर्दा नेपाली हजारको नोट नक्कली भएको प्रष्टै देखिने गरेको छ ।
चन्द्रपुरको ठेलामा तरकारी बेच्ने एक व्यापारीलाई सयको समान किनेर नक्कली हजारको नोट दिएर गएको केही दिन बित्न नपाउदै चन्द्रपुरकै एक डेरीमा अर्को नक्कली हजारको नोट फेला परेको छ ।
एकजनाले एक लिटर दुध किनेर एक हजारको नोट दिएर गएको र पछि निहालेर हेर्दा सो हजारको नोट नक्कली भएको व्यापारी शिव फयलले बताएका छन् ।
चन्द्रनिगाहपुरमै नक्कली नोट छाप्ने काम भएको हुन सक्ने स्थानीय व्यापारीको अनुमान रहेको छ । यस्तो बिषयमा प्रहरी चनाखो हुनुपर्ने उद्योग बाणिज्य संघ चन्द्रनिगाहपुरका पुर्व अध्यक्ष खड्ग बहादुर बम्जनको भनाइ रहेको छ ।
बजारमा नक्कली नेपाली नोट देखा परेको प्रति स्थानीय प्रहरीले यस बिषयमा गम्भिर भएर लाग्नु पर्ने स्थानीय व्यापारीहरुको भनाई रहेको छ।
केही बर्ष पहिला चन्द्रपुर बजारबाट हजारको नक्कली नोट छाप्ने मेशिन सहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।