जनकपुरधाम , ९ पुष //
नेकपा एमालेले प्रदेश २ को नामाकरणका लागि आज आफ्नो प्रस्ताव पेश गर्ने भएको छ ।
आज बस्ने प्रदेशसभा बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले नामाकरणका लागि प्रस्ताव पेश हुने कार्यसूची रहेको छ ।
प्रदेशसभाका सचिव रंजित कुमार यादवका अनुसार एमालेको तर्फबाट प्रदेशसभा सदस्य शारदा देवी थापाले जनक प्रदेश प्रस्ताव पेश गर्नेछिन् भने उनको प्रस्तावको समर्थन अनिता कुमारी यादव र किशोरी साह कमलले गर्ने कार्यसूची रहेको छ।
यस अघि बिहिवार बसेको प्रदेशसभाको बैठकमा पाँचवटा प्रस्तावमा चारवटा नाम पेश भएको थियो ।सत्तारुढ दल जनता समाजवादी पार्टी र नेकपा माओवादीको तर्फबाट छुट्टा–छुट्टै मधेश प्रदेश प्रस्ताव प्रदेशसभामा पेश गरिएको थियो भने प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले जसपाको प्रस्तावलाई समर्थन गरेका थिए ।
त्यस्तै सत्तारुढ दल कांग्रेसले भने मिथिला भोजपुरा प्रस्ताव पेश गर्दा, नेकपा एसले जानकी प्रदेश प्रस्ताव पेश गरेका थिए ।