सर्लाही, १४ पुष //
नवलपुरबाट भन्सार छलेर भारततर्फ लैजादैँ गरेको अवस्थामा ट्रक र पुरानो ब्याट्री सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा रौतहटको परोहा नगरपालिका वडा नम्बर ६ निवासी ४७ वर्षीय निरजकुमार जैसवाल, ट्रक चालक सर्लाहीको मलङ्गवा नगरपालिका २ बस्ने २७ वर्षीय प्रमोद राय र मलङ्गवाकै १८ वर्षीय आकाश कुमार रहेका छन्।
बाग्मती प्रदेश ०३–००१ ख १५५२ नम्बरको ट्रक र पुरानो ब्याट्री सहित तीनै जनालाई मंगलबार राति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सागर पन्तका अनुसार पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं. ८ स्थित थानाचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदैँ गरेको अवस्थामा ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा बिल नभएको कारण उनीहरुलाई हिरासतमा लिएको हो।
ट्रकमा लोड गरि अवैधरुपमा ओसारपसार गरेको २४ दशमलब १ सय ६० टन पुराना ब्याट्रीहरुको मूल्य करिब ३६ लाख २४ हजार बराबर रहेको पन्तले बताए ।
पक्राउ परेका तीनै जनालाई ट्रक र ब्याट्रीसहित राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको नवलपुर प्रहरीले जानकारी दिएको छ ।