सप्तरी , ४ मंसिर //
जवरजस्ती करणीको मुद्दा लगाई दिन्छु भनी ठगि गरेको आरोपमा सप्तरीबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–९ लालपट्टीका २५ वर्षीया रुबिना खातुन र ३२ वर्षीय मो. रहमान मियाँ रहेका छन्।
दुवैजनालाई पिडितको जाहेरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।
उनका अनुसार खातुन र मिँया मिलेर पिडितसँग एक लाख ठगेका छन् ।
रुबिनाले आफ्नो मोबाइलबाट खडक नगरपालिका वडा नं. ९ कै समसुल मियाँको श्रीमती गुलेसा खातुनको मोबाइलमा फोन गरी तिम्रो श्रीमानले मलाई जवरजस्ती करणी गरेको मुद्धा मिलाउने हो भने मलाई ४ लाख रुपैयाँ दिनुपर्छ भनि बार्गेनिङ्ग गरेकी थिइन् ।
रुपैया नदिए जवरजस्ती करणी मुद्धा लगाई श्रीमानलाई जेल पठाईदिन्छु भनेर रुपैयाँ ठगेको प्रहरीले जानकारी दिएका छन् ।
रुबिनाले गुलेसासँग २ लाख बार्गेनिङ गरी मंसिर १० गते १ लाख रकम लिई ठगी गरेको प्रवक्ता काफ्लेले बताएका छन् ।प्रहरीमा उजुरीपरेपछि अनुसन्धानको क्रममा दुवैजनालाई पक्राउ गरिएको उनले बताए ।
अनुसन्धानको क्रममा रुबिनाले बिदेशबाट आएका केटाहरुलाइ फोनमा सम्पर्क गरी सम्पर्कमा ल्याई यस्तै किसिमले बार्गेनिङ गरी फसाउने गरेको खुलेको प्रवक्ता काफ्लेले बताए ।