सिरहा , १२ पुष //
जनमत पार्टीले सात बुँदे मागसहित आज सिरहामा बन्द गरेका छन्।
डा सीके राउत नेतृत्वको जनमतले आज सिराहामा चक्काजामको घोषणा गरेको थियो । आज बस्ने आन्दोलन समितिको बैठकबाट थप आन्दोलनका कार्यक्रम घोषणा गरिने जानकारी दिइएको छ ।
उनीहरुले पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिनको माग गर्दै जनमत पार्टी आन्दोलनमा उत्रिएको हो ।
औरही गाउँपालिकाले वितरणका लागि गोदाममा राखेको गहुँको बीउ लुटिएको आरोपमा एक किसानलाई पक्राउ गरिएपछि जनमत पार्टीले सिरहामा आन्दोलन चर्काएको हो ।
वितरणमा ढिलाई भयो भन्दै लाइन बसेका किसानहरूले जथाभावी गहुँको बीउ लुटेर लागेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ भने केहीमाथि मुद्दा चलाइएको छ । आन्दोलनकारीले आइतबार दर्जनौं गाडी तोडफोड गर्नुको साथै केही गाडीमा आगजनीसमेत गरेका थिए ।