पर्सा , १ पुष //
१६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पर्सा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाटोल निवासी १९ वर्षीय नितेश कुमार महतो रहेका छन् ।
महतोले बालिकालाई फोन गरेर मायाप्रेमको झूठो कुरा गरी अनुचित प्रभाव र दबाबमा पारेर ललाईफकाई विवाह गर्ने प्रलोभन समेत दिएर मंसिर २३ गते कलेज पढ्न जाने क्रममा बहुदरमाई नगरपालिका वडा नम्बर ४ डकैलास्थित आफ्नो दिदीको घरको कोठामा लगेर मंसिर २६ गतेसम्म पटक-पटक करणी गरेको पर्सा प्रहरीका प्रवक्ता ओमप्रकाश खनालले बताएका छन् ।
बालिकाका अभिभावकले मंसिर २८ गते महतोविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी गरेपछि महतोलाई उनको वीरगञ्जस्थित घरमा नियन्त्रणमा लिएको उनले जानकारी दिएका छन्।
उनका अनुसार पक्राउ परेका महतोविरुद्ध प्रहरीले जबरजस्ती करणी सम्बन्धी कसूर मुद्दा चलाएर अनुसन्धान अगाडी बढाइएको छ।