रौतहट, १६ मंसिर //
रौतहटको सदरमुकाम गौर ४ मा रहेको लालबकैया नदीको पुल सात वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन ।
गौर र ईशनाथलाई जोडने लालबकैया नदीमा पुल नभएर आवागमनमा समस्या हुदाँ वर्षेनी ईशनाथ नगरपालिकाले खोलामा डाइभर्सन बनाउने गरेको छ ।
डाइभर्सनमा खोलाको बहावका लागी पर्याप्त मात्रमा ह्युम पाइपहरु नराख्दा कुनै पनि समय बग्ने र फेरि समस्या जस्ताको त्यस्तै हुने प्रति इशनाथ नगरपालिकाले ध्यान नदिएको स्थानियहरु बताउछन ।
ठूलो खोलामा पानिको बहावको लागी नगरपालिकाले ४ वटा मात्रै पाइप राखेको छ। कम पाइप राखेर डाइभर्सन निर्माण गर्दा वर्षेनी नगरपालिकाको लगानी पानीमै बगेर जाने गरेको छ ।
पालिकाका अधिकारीहरुले भने प्रत्येक वर्ष डाइभर्सनबाट कमिसन प्राप्त गर्ने गरेको स्थानियको आरोप छ ।
यता ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहताले भने आफुहरुले पुल निर्माणका लागि सम्बन्धित निकायलाई पटक–पटक भन्दा पनि कुनै वास्ता नगरेको बताएका छन् । स्थानियलाई आवागनमा सहजताका लागी अस्थायी रुपमा डाइभर्सन निर्माण गरिएको उनले बताए ।
ईशनाथ नगरपालिकाले दुई दिन अघिमात्रै लालबकैया खोलामा डाइभर्सन निर्माण सम्पन्न गरेको छ । हाल निर्माण भएको डाइभर्सनमा चार वटा ह्युम पाइप मात्रै प्रयोग गरिएको छ ।