सर्लाही , १ पुष //
सर्लाहीको एक अस्पतालमा जिल्ला प्रशासन कार्यालयको टोलीले छापा मारेको छ । लालबन्दी नगरपालिका–१, स्थित नवलपुरमा रहेको नवलपुर मोडेल अस्पतालमा मंगलबार जिल्ला प्रशासन कार्यालयको टोलीले छापा मारेको हो।
जिल्ला प्रशासन कार्यालयमा अस्पतालको विरुद्धमा उजुरी परेपछि मंगलबार दिउँसो कार्यालयबाट खटिएको टोलीले आकस्मिक रुपमा अस्पतालको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा अस्पतालको ओपीडी, अपरेशन थिएटर र फार्मेसीमा लापरवाही देखिएकाले तत्काल ती सेवा बन्द गरेर एक साताभित्र अस्पतालका आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालय मलंगवामा आउन निर्देशन दिइएको अनुगमन टोलीले जनाएको छ ।
अनुगमनका क्रममा अप्रेसन थिएटर बन्द रहेको भएतापनि गर्भपतन गराउने औजारसहितका सरसामग्री भेटिएको, कर्मचारीहरुलाई काममा लगाएर पारिश्रमिक नदिई पटक–पटक नयाँ कर्मचारी राख्ने गरेको जस्ता हेलचेक्र्याइँ भेटिएको बताइएको छ । केही दिनअघि मात्रै औषधि व्यवस्था विभागको टोलीले हरिवनस्थित सरस्वती अस्पतालको फार्मेसीमा छड्के अनुगमन गरेर शिल गरेको थियो ।