सर्लाही , १३ पुष //
सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलवास बजार क्षेत्रमा अहिले (मंगलबार) दिउँसो ३ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ ।
प्रदर्शनकारीरूले निरन्तर ढुंगामुढा एवं ताेडफाेड गरेपछि स्थिति नियन्त्रणमा लिनका लागि भन्दै प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गाैतमले भाेली(बुधबार) साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका हुन् ।
इलाका प्रहरी कार्यालय केशरगञ्जबाट पूर्व ईश्वरपुर नगरपालिका-४ सागरनाथ टोलसम्म, पश्चिममा ईश्वरपुर नगरपालिका-८ रामपुर टोलसम्म, उत्तरमा वडा नं. ५ सखुवनी टोलसम्म र दक्षिणमा ईश्वरपुर नगरपालिका-९ खोरिया टोलसम्मकाे क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रजिअ गौतमले जानकारी दिए।
निषेधाज्ञाको अवधीमा कुनै पनि किमिसको भेला हुन, बाहिर हिँड्डुल गर्न र राजनीतिक सभा तथा गतिविधि गर्न नपाइने प्रजिअ गाैतमद्वारा जारी निषेधाज्ञा आदेशमा उल्लेख छ ।
प्रजिअ गाैतमका अनुसार सार्वजनिक सम्पतिमा तोडफोड, आगजनी लगायत विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको हाे ।
प्रहरी भ्यानको ठक्करबाट ईश्वरपुर नगरपालिका–५, सखुबनी खुबलाल टोलका ३० वर्षीय राम कुमार महतोको मृत्यु भएको घटनालाई लिएर आक्रोशित स्थानीयवासीले अन्धाधुन्ध आक्रमण सहित आन्दोलन चर्काएपछि बाध्य भएर निषेधाज्ञा जारी गर्नुपरेकाे प्रजिअ गाैतमले जानकारी दिए ।