सर्लाही , २८ मंसिर //
सर्लाहीको बरहथवा नगरपालिका–१७, श्रीपुरमा नवनिर्मित वडा कार्यालय भवनको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरेका छन् ।
बरहथवा नगरपालिकाको ४० लाख र वडाको ६ लाख बजेटगरी ४६ लाख रुपैयाँ लागतमा श्रीपुर नयाँटोल कटानीबजारमा एक तले वडा कार्यालय भवन निर्माण गरिएको भवनको सोमबार मुख्यमन्त्री राउतले उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राउतले सङ्घीयता समाप्त पार्ने मनसाय बोकेकाहरुले सङ्घीयताको पहरेदार बनिरहेको प्रदेश सरकारविरुद्ध अनेक षड्यन्त्र गरिरहेका आरोप लगाए ।
उनले प्रदेश सरकारको अधिकार कुण्ठित हुन नदिन सङ्घीय सरकारसँग निरन्तर सङ्घर्ष गरिरहेको उल्लेख गरेका छन् ।
उनले कोरोनाको कारण अवरुद्ध भएको छोरी शिक्षा बीमा कार्यक्रम पुनः चाँडै सूचारु गर्ने प्रतिवद्धता व्यक्त गरे।
बरहथवा नगरपालिका वडा नं. १७ का वडाध्यक्ष रामविश्वास रायको अध्यक्षतामा आयोजित वडा कार्यालय भवन उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य द्वोय अशोक यादव र सञ्जय कुमार यादव, बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतो लगायतको उपस्थिति रहेको थियो ।