धनुषा , १६ मंसिर//
बालिकालाई जनकपुरको एक होटेलमा तीनदिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको अभियोगमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषाको बिदेह नगरपालिका ४, ढाडीका ३० वर्षीय जितेन्द्रकुमार महरा र ३२ वर्षीय अरुणकुमार महरा रहेको धनुषा प्रहरीले जनाएको छ।
जितेन्द्रलाई तीनदिन अघि जनकपुरबाट र अरुणलाई बिदेह नगरपालिकाबाट बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन् ।उनका अनुसार जबर्जस्ती करणी गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।
जिल्ला अदालत धनुषाबाट म्याद थप गरी हिरासतमा राखेर घटनाको थप अनुसन्धान गरिरहेको प्रवक्ता बस्नेतले बताएका छन्।
आरोपित जितेन्द्र र अरुणमाथि पीडित बालिकाकी सानीआमा शनिचेरीदेवी महराले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता गराएकी थिइन् ।
उजुरीमा आरोपितहरुले भतिजी पर्ने बालिकालाई जनकपुरको शिवचौकस्थित एक होटलमा बन्धक बनाएर असोज ३ गतेदेखि ६ गतेसम्म जबर्जस्ती करणी गरेको आरोप छ ।
सानीआमा शनिचेरीदेवीका अनुसार बेपत्ता भएको तीन दिनपछि घर आएकी बालिकाले घटनाबारे जानकारी गराएपछि असोज ६ गतेकै दिन प्रहरीमा उनीहरुविरुद्ध उजुरी दिएको थियो ।बालिकाकी आमाको मृत्यु भइसकेको र बुवाको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ।