रौतहट १६ मंसिर / जनता आवास अन्तर्गत रौतहटमा धेरै घरहरु अधुरै रहेपछि सेवाग्रहिहरु सहरी विकास तथा भवन निर्माण कार्यालय वीरगन्ज धाउन थालेका छन ।
जनता आवास कार्यक्रमअन्तर्गत बनेको घरमा महिनौ देखि झ्यालढोका नहुदा बिचल्ली भएको धेरैको गुनासो छ ।
बर्षामा जसोतसो बसेका पिडितहरु सितलहरमा कसरी बस्ने चिन्तामा छन ।
जिल्लामा आर्थिक वर्ष २०७३/०७४ अघि सुरु भएको आवास निर्माण अझै सकिएको छैन ।
कार्यक्रम सुरु भएदेखि रौतहट, बारा, पर्सा तीनवटै जिल्लामा लक्ष्यअनुरूप आधा घरसमेत निर्माण हुन सकेको छैन ।
सो कार्यालयको तथ्यांकअनुसार, गत आवसम्ममा पर्सामा २ हजार ६६ आवास बनाउने लक्ष्य रहेकोमा १ हजार १ सय मात्र निर्माण भएका छन् ।
रौतहटमा १ हजार ९ सय ४० घर निर्माणको लक्ष्य रहेकोमा १ हजारवटा घरहरु बनेका छन् । बारामा १ हजार ९ सय ९१ आवास निर्माणको लक्ष्य रहेकोमा जम्मा ३ सय ८४ मात्र निर्माण हुन सकेका छन् ।
आव २०७६/७७ मा तीनवटै जिल्लामा गरी यो कार्यक्रमको बजेट २५ करोड ५० लाख रुपैयाँ रहेकोमा ६३ लाख ७१ हजार ७ सय १४ रुपैयाँ मात्र खर्च भएको छ । बाँकी रकम फ्रिज भएको छ ।
गत आव २०७७/७८ मा तीनवटै जिल्लामा गरी २३ करोड ६० लाख २० हजार रुपैयाँ बजेट रहेकोमा १ करोड ३७ लाख ५५ हजार फ्रिज भएको कार्यालयले जनाएको छ ।
चालु आवका लागि तीनवटै जिल्लामा ३६ करोड ३९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सो कार्यालयका निमित्त प्रमुख रुद्रनारायण दास ले यस वर्ष कुनै बाधा अवरोध नरहेकाले आवास निर्माणले गति लिने बिश्वास लिएका छन ।