सिरहा ,४ मंसिर //
सिरहामा दुई समूहबीच छुरा हानाहान गर्दा एक युवकको मृत्यु भएको छ। युवकको मृत्युपछि स्थानीयले बिहानैदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
बिहानैदेखि स्थानीयले घटना विरोधमा गोलबजार स्थित पुर्वपश्चिम राजमार्गमा ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरेका छन् ।
शनिबार साँझ सिरहाको गोलबजार नगरपालिका ६ डोहटिया टोलका स्थानीय २६ वर्षीय रामकुमार सदाको छुरा प्रहारबाट मृत्यु भएको थियो।
यस्तै स्थानीय १९ वर्षीय युवक निकेश सदा गम्भीर घाइते भएका छन् ।उनको उपचार मेडिसिटी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।
दुई समूहबीच छुराहानाहान भएको सिरहा प्रहरीले बताएपनि अर्को एक समूहको अहिलेसम्म पहिचान हुन सकेको छैन ।
दोषीलाई यथासिघ्र पक्राउ गरी कारबही गर्नुपर्ने, घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने, मृतकका परिवारलाई क्षतिपुर्ति दिनु पर्ने लगायका माग राखेर स्थानीयहरुले गोलबजारको व्यवसाय समेत बन्द गराएका छन् ।
इलाका प्रहरी कार्यालय गोलबजार अगाडी समेत उनीहरुले प्रदर्शन गरेका छन् । घटना विषयमा अनुसन्धान भइरहेको र दोषीको खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी सुभाष बुझाथोकीले बताएका छन् ।