सप्तरी , २२ मंसिर //
सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष बीच कुटाकुट भएको छ ।
गाउँपालिकाको अध्यक्ष सुर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच मंगलवार कुटाकुट भएको हो।
कुटाकुटको क्रममा अध्यक्ष मण्डलको दुई वटा दाँत भाचिएको छ भने उपाध्यक्षको हातमा चोट लागेको बैठकमा सहभागी एक वडाध्यक्षले बताए ।
मंगलबार दिउँसो ३ बजेतिर कार्यपालिकाको बैठकमा गहुँको विउ वितरण गर्ने विषयमा छलफल भइरहेको बेला विवाद भएको थियो ।
गहुँ बिउ वितरणको स्थान र प्रक्रियाबारे बैठकमा विवाद हुँदा अध्यक्षले आफूलाई अपशब्द प्रयोग गर्दै हात समाई अभद्र व्यवहार गरेपछि प्रतिकार गरेको उपाध्यक्ष उषाकुमारी मण्डलले बताइन् ।
उपाध्यक्ष मण्डलले अध्यक्षको आक्रमणबाट हातका चुरा फुटेको र चोट लागेको समेत बताएकी छिन् । यस घटनाबारे अध्यक्ष मण्डलसँग सम्पर्क हुन सकेन ।