रौतहट , २३ मंसिर //
दक्ष जनशक्तिको अभावका कारण रौतहटको गौर अस्पतालमा रहेको आइसियु तथा भेन्टिलेटर प्रयोगमा आउन सकेका छैन।
कोरोनाको दोस्रो लहरमा भेन्टिलेटरको अभावमा स्थानियले ज्यान गुमाइरहदा पनि दक्ष जनशक्तिको अभावका कारण संचालनमा आएन।
कोरोना संक्रमितलाई जिल्लामा उपचारको व्यवस्था नहुदा बिरगंजका विभिन्न अस्पतालहरुमा रेफर गर्नुपर्ने वाध्यता रहेको छ ।
सरकारले करौडौ खर्चिएर तयार गरिएको भेन्टिलर र आइसियु जिल्लामा एकपछि अर्को संक्रमितले ज्यान गुमाइरहदा समेत सञ्चालनमा आउन सकेन ।
कोरोनाको दोस्रो लहरमा गौर अस्पतालले भेन्टिलेटर तथा आइसियु संचालन गर्न नसक्दा त्यहाँबाट रेफर गरिएका अधिकासं संक्रमितहरुले ज्यान गुमाएका थिए।
कोरोनाको दोस्रो लहरमा रौतहटका १ सय १९ जनाले ज्यान गुमाए । जसमध्ये अधिकांसले समयमै उपचार , अक्सिजन , आइसियु, भेन्टिलेटरको अभावमा ज्यान गुमाएका थिए ।
गौर अस्पतालको माथिल्लो तल्लामा १० बेडको आइसीयू सँगै ४ वटा भेन्टीलेटर मेसिन छन । हेर्दा सबै सामान नयाँ छन तर दूर्भाग्य, कोरोनाको संक्रमण बढेर बिरामी मृत्युको मुखमा पुग्दा समेत यी मेशिनहरु कसैको ज्यान बचाउन प्रयोगमा आउन सकेन ।
प्रदेशको सामाजिक विकास मन्त्रालय तथा संघिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दक्ष जनशक्ति पठाउन चासो नदेखाउँदा गौर अस्पतालमा १० बेडको आइसीयू, ४ भेन्टीलेटर तथा १५ वटा एचडियू बेड र अक्सिजन प्लान्ट म्युजियम झै पुतलाका रुपमा मात्र राखिएको छ ।
दोस्रो लहरको कोरोना उच्च हुँदा अस्पातलले संचालन गरेको अस्थायी कोभिड वार्डमा उपचारत संक्रमितहरुलाई अक्सिजनको साहारामा मात्र उपचार गरेको थियो । राज्यको करौडो लगानि परेको स्वास्थ्य सामाग्री जनताको ज्यान जोगाउन प्रयोग हुन नसक्नु निकै दुःखद् र यसलाई जसरी भएपनि संचालनमा ल्याउनुपर्ने स्थानियको माग छ ।
त्यतिमात्र नभएर कोरोना संक्रमितहरुलाई अक्सिजनको अभाव हुन नदिन भनेर गत असारमा करिब ५० लाख खर्चेर जडान गरिएको अक्सिजन प्लान्ट पनि संचालनमा आउन सकेको छैन् । अक्सिजन प्लान्ट पनि विभिन्न प्राविधिक समस्याले गर्दा अक्सिजन उत्पादन गर्न सकेको छैन् ।
अस्पतालमा रहेको अक्सिजन प्लान्ट , आइसियु, भेन्टिलेटर संचालन गर्न भनेर तत्कानि अस्पताल व्यवस्थापन समितिले केन्द्र, प्रदेश सरकारका हरेक निकायमा पत्रचार गर्दा पनि आवश्यक दक्ष जनशक्तिको व्यवस्था नहुँदा संचालन गर्न नसकिएको गुनासो छ।
नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देशमा प्रवेश गरेको सबैमा अवगत नै छ । गौर अस्तपाल आफैमा दक्ष जनशक्तिको सास्ती खेपी रहेको अवस्था छ ।