रौतहट , २९ मंसिर //
नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट डा. शेखर कोइरालालाई पराजित गर्दै सभापति पदमा पुनः शेरबहादुर देउवा विजयी भएका छन् ।
दोस्रो चरणमा सभापतिको लागि भएको चुनावमा देउवाले दुई हजार सात सय ३३ मत ल्याएका छन् भने कोइरालाले एक हजार आठ सय ५५ मत प्राप्त गरेका छन् । यस्तै ३५ मत बदर भएको छ ।
सोमबार पहिलोपटक सभापति पदको लागि भएको मदतानको लागि कुनै उम्मेवारले ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार पुन :साढे ३ बजे मतदान भएको थियो ।
मतदान राति साढे ९ बजेसम्म चलेको थियो । मतगणना राति सवा ११ बजेदेखि सुरु हुँदा देउवाले लगातार अग्रता बढाउँदै लगेका थिए ।
सोमबार पहिलो चरणमा भएको मतदानमा ४ हजार छ सय ७९ मत खसेकामा मंगलबार घटेर चार हजार छ सय २३ मत खसेको निर्वाचन समितिका एक अधिकारीले जानकारी दिएका छन् । काँग्रेसमा कुल मतदाता ४ हजार सात सय ४३ जना भएपनि बाँकी अनुपस्थित भएका थिए ।