रौतहट , १८ मंसिर //
अधिकांश किसानले धान व्यापारीलाई बेचेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बल्ल धान खरिदको तयारी गरेको छ ।
केन्द्रीय कार्यालयको सर्कुलरपछि जिल्लामा प्राथमिक खरिद कमिटीको बैठक गरेर धान खरिद सुरू हुने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले बताइन।
उनका अनुसार अबको साता धान खरिद सुरू हुन्छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा भदौ २९ मा बसेको मन्त्रिपरिषद् बैठकले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ५२ रुपैयाँ र मध्यम धानको २ हजार ९ सय २ रुपैयाँ तोकेको छ । अन्य धानको हकमा खरिद कमिटीले मूल्य तय गर्ने उनले बताइन् ।
खरिद समितिको अध्यक्षमा सम्वन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, सदस्यमा कृषि कार्यालय प्रमुख, कृषि कार्यालयले तोकेका कृषक र सम्बन्धित जिल्लाका संस्थान प्रमुखको कमिटी रहन्छ ।
कमिटीले स्थानीय उत्पादन, बजार मूल्य र सीमावर्ति मूल्य विश्लेषण गरेर उचित मूल्य तोक्ने कम्पनीको दाबी छ । सरकारले तोकेको धानको मूल्यबारे कतिपय किसान बेखबर छन् भने जानकार किसानले पनि भनेअनुसार मूल्य पाएका छैनन् ।
खाद्यले चालु आर्थिक वर्षमा ३० हजार २ सय टन धान किन्ने योजना बनाए पनि खरिद गर्न ढिलाई गरेको छ । कम्पनीले समयमै धान नकिन्दा किसान सस्तोमा बिक्री गर्नुपर्ने बाध्यतामा छन् ।
व्यवसायीले भिजेको धान भन्दै प्रतिक्विन्टल १ हजार ९ सय रुपैयाँदेखि २ हजार ३ सय रुपैयाँमा खरिद गरिरहेको राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेतले बताए ।
पश्चिम क्षेत्रमा करिब ९० प्रतिशत धान कटानी भइसकेको र पूर्वमा पनि धेरै कटानी भइसकेको महासंघले जनाएको छ ।
अध्यक्ष बस्नेतका अनुसार करिब ७५ प्रतिशत धान बिक्री भइसकेपछि बल्ल खाद्यले किन्ने सुरसार गरेको छ।