रौतहट,२८ मङ्सिर //
सरकारले उखु काट्ने बेला भइसक्दा पनि मूल्य नतोक्दा उद्योगहरू बन्द भएको छ। उद्योग नै नचलेपछि उखु खेतमै सुक्न थालेको किसानको गुनासो छ ।
वर्षेनी उखु काट्ने समय सुरु भएपछि मात्रै मूल्यका लागि बहस सुरु हुने भएका कारण किसान मारमा पर्दै आएका छन्।
विगतमा मंसिर पहिलो सातातिर चिनी उद्योग सञ्चालन हुन्थ्यो तर केहि वर्ष यता मूल्यमा हुने किचलोका कारण उद्योगीले समयमै उद्योग संचालन गरेका छैनन्।
किसानले बढी मूल्य खोज्ने र उद्योगीले बढी नाफा खोज्ने गरेकाले पछिल्लो समय उखुको मूल्य तोक्न कठिनाइ भइरहेको छ ।
केही वर्षयता सरकारले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै उखुको मूल्य विवाद मिलाउँदै आएको छ । मूल्य विवादकै कारण यस वर्ष पनि जिल्लाका चिनी उद्योग सञ्चालनमा आएका छैनन्।
यता किसानलाई भने गहुँ तथा दलहन बाली लगाउन ढिलो हुने भएकोले उखु बेचेर खेत खाली गर्न हतार भएको छ।
अन्तिम खुट्टी उखु बेचेर गहुँ खेती गर्ने तयारी रहेका किसानलाई समयमै चिनी उद्योग सञ्चालनमा नआएकाले उखु बिक्री गर्न नसकिएको उनीहरुको गुनासो छ।
उखुको मूल्यबारे सरकारले छलफलमा नै ढिलाइ गरेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए । कृषिमन्त्री महेन्द्र राय यादवले यस वर्षका लागि उखुको मूल्य तोक्न बल्ल छलफल अघि बढाएका छन् ।
मैनालीका अनुसार मन्त्री यादवले बिहीबार किसान प्रतिनिधिहरूसँग छलफल गरेका छन्। छलफलमा आफूहरूले उखुको उत्पादन लागत निकै बढेकाले यस वर्ष उखु प्रतिक्विन्टल ६ सय ५० रुपैयाँ कायम गर्न माग गरेको उनले बताए ।
छलफलमा मन्त्रालयका अधिकारीहरू, राष्ट्रिय योजना आयोगका प्रतिनिधि, किसान प्रतिनिधिसहित उखु उत्पादन हुने क्षेत्रका जनप्रतिनिधिहरू को सहभागीता रहेको थियो ।
मन्त्री यादवले उद्योगीसँग पनि छलफल गरी संयुक्त रूपमा बैठक बसेर उखुको नयाँ मूल्य कायम गरिने बताएको मैनालीले जानकारी दिएका छन् ।