रौतहट, ७ पुष //
सर्लाही र रौतहटलाई जोड्ने हुलाकी राजमार्गको बागमती नदीमा पुल निर्माण हुने भएको छ। लामो समयदेखि अलपत्र रहेको पुल निर्माणको लागि सम्बन्धित निकायले बोलपत्र आह्वान गरेपछि दुवै जिल्लाका स्थानीयबासी खुसी भएका छन्। एक दशकभन्दा लामो समयदेखि अलपत्र रहेको पुलको निर्माणको लागि हुलाकी राजमार्ग आयोजनाद्वारा हालै बोलपत्र आह्वान गरिएको हो । बोलपत्र आह्वान भएपछि पुल निर्माण हुने आशा सर्लाही र रौतहटका स्थानीयबासीमा पुनः पलाएको छ। दुवैतिर गाडी चल्न योग्य सडक बनिसकेको अवस्थामा पनि बागमतीमा पुल नहुँदा दुवै जिल्लाका स्थानीयबासीलाई सडक बन्दा पनि हर्ष न विस्मातको अवस्था रहेको थियो। अब बोलपत्र आह्वान भएपछि पुल निर्माणको औपचारिक प्रक्रिया सुरु भएकाले पुल निर्माण हुनेमा आशा बढेको बडहर्वाका स्थानीयहरु बताउछन। पुल निर्माणको लागि संसदीय अनुगमन समितिको टोली, जिल्ला प्रशासन कार्यालय रौतहटको टोली, हुलाकी सडक आयोजनाको टोलीले कैयौँपटक स्थलगत अनुगमन गरेको थियो। विभिन्न मन्त्री तथा नेताहरुले पनि स्थलगत अनुगमन गरी पुल निर्माणको आश्वासन दिने गरेका थिए। अहिले बोलपत्र आह्वान गरिएको पुलको प्राविधिक डिजाइनमा केही परिवर्तन गरिएको हुलाकी राजमार्ग आयोजना टेकु काठमाडौँका आयोजना निर्देशक धर्मेन्द्र झाले जानकारी दिएका छन्। साथै पुलको स्पान थप गर्ने, नदीको धार परिवर्तन गर्ने, पुलको एप्रोच सडक बनाउने र विम ढलान गर्ने लगायतको कामको लागि झन्डै असी करोड रुपैया बराबरको रकम विनियोजन गरेर बोलपत्र आह्वान गरिएको उनको भनाइ छ।