रौतहट , २५ मंसिर //
नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलन आज (शनिबार ) सबै प्रदेशमा हुँदै छ । सात वटा भौगोलिक र तीन वटा गैरभौगोलिक गरी १० वटा प्रदेशमा सम्मेलन हुन लागेको हो
अधिवेशनको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ । माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ ।
प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुरधाम, वाग्मतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा सम्मेलन हुने छ ।
सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन हुनेछ । प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुने छन् ।
प्रदेशमा नं १ मा २५९, २ नं प्रदेशमा २७१, वाग्मतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति हुनेछ । विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम् १७५ सदस्यीय हुने छन् ।