रौतहट , २६ मंसिर //
कोरोना नियन्त्रणका लागि स्थानीय शिक्षकबाट सहयोग स्वरूप उठाएको रकम चन्द्रपुर नगरपालिकाले फिर्ता दिएको छ ।
सो रकम कोरोना नियन्त्रणका लागि खर्च नभए पनि नगरपालिकाले त्यतिकै राखेको थियो । शिक्षकहरूको दबाबपछि नगरपालिकाले एक वर्षपछि सो रकम फिर्ता दिएको हो ।
नगरपालिकाको शिक्षा शाखाका उपसचिव कृष्ण सिग्देलको निर्देशनमा संक्रमण बढेपछि नगरक्षेत्रका विद्यालयमा कार्यरत शिक्षकबाट १० लाख २६ हजार रुपैयाँ उठाइएको थियो ।
तर संक्रमण नियन्त्रणमा रकम खर्च नभएपछि शिक्षकहरूले सो बिषयमा चासो लिएका थिए ।तत्कालीन प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई शिक्षकले मौखिक जानकारी गराएपछि उनले खर्च नभएको भए फिर्ता गर्न भने पनि नगरले आलटाल गर्दै आएको थियो ।
पटकपटक भन्दा पनि कुनै सुनवाइ नभएको र आन्दोलन गर्ने भनेपछि रकम फिर्ता गरेको जनज्योति मावि चन्द्रनिगाहपुरका प्रधानाध्यापक शंकर भटराईले बताए ।