रौतहट , २५ मंसिर//
आजदेखि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक भक्तपुरको गठ्ठाघरमा शुरू हुँदैछ ।
बैठकमा विभिन्न १५ वटा एजेण्डा तय गरिएको छ । बैठकमा बाँकी केन्द्रीय सदस्यहरूको शपथ ग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय कमिटी सदस्यहरुको मनोनयन, पोलिटब्युरो गठन र स्थायी कमिटीको गठन हुने छ ।
यस्तै केन्द्रीय सल्लाहकार परिषद् गठन, केन्द्रीय सदस्यहरुको कार्य विभाजन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन, जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारणबारे पनि छलफल हुने जनाइएको छ ।
विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरीयता क्रम निर्धारण र जनसङ्गठनको सुदृढीकरण अभियानलाई पनि बैठकको कार्यसूची बनाएको बताइएको छ ।