रौतहट ९, मंसिर । पूर्वपश्चिम राजमार्गमा खाल्डाले दुर्घटना जोखिम बढाएको बेला सवारीसाधन बिग्रिएपछि अलपत्र छाड्दा दुर्घटनाको जोखिम झन् बढेको छ। लामो समय देखि ट्र्याक्टर, जिप र मालबाहक ट्रक बिग्रिएपछि सडकमै छाड्ने हुनाले अन्य सवारीले ठक्कर दिई दुर्घटना हुने गरेको छ ।
एक महिनाअघि मात्र चन्द्रपुर–४ पचिम लच्कास्थित पूर्वपचिम राजमार्गमा पूर्व जाँदै गरेको ना४ख ८३२९ नम्बरको मालबाहक ट्रक बिग्रिए पछी अलपत्र छोड्दा चन्द्रनिगाहपुर आउँदै गरेको बा२१च ८६१६ नम्बरको कार ठोक्किएको थियो । कार ठोक्किद्दा असिम कुशवाह, त्यसमा सवार ध्रुव कोइराला र दीपक पौडेल घाइते भए ।
राति विपरीत दिशाबाट आइरहेको सवारी साधनको बत्तीले रोकिराखेको ट्रक नदेखिएपछि ठोक्किन पुगेको कुशवाहको भनाइ थियो । केही दिनअघि लमाह–धन्सार खण्डमा टायर पन्चर भई रोकिराखेको ना२ख ५००८ नम्बरको ट्रकमा बिरामी लिएर चितवन जाँदै गरेको ना४च ८३३ नम्बरको एम्बुलेन्स ठोक्कियो । एम्बुलेन्स चालक नरबहादुर भोलन घाइते भए ।
दुई वर्षअघि पथलैया–निजगढ खण्डको पसाहानजिक राजमार्गमा बिग्रिएर अलपत्र छाडिएको ट्र्याक्टरको टेलरमा ठोकिएर बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई र सशस्त्र प्रहरीका एसपी बलराम लामिछानेको मृत्यु भएको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालयले देशभरका मातहतका प्रहरी कार्यालयलाई राजमार्गमा जथाभावी सवारीसाधन रोकेर राख्न नदिन निर्देशन दियो । केही समयसम्म यो निर्देशन कार्यान्वयन भएको देखिन्थ्यो । अहिले प्रहरीले खासै चासो नदिने गरेको चन्द्रपुर नगरपालिका–५ का वडाध्यक्ष सञ्जय काफ्ले बताउँछन् ।
प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका डीएसपी सन्तु जैसवाल राजमार्गमा बिग्रिएर अलपत्र छाडिने सवारीसाधनलाई तत्कालै तानेर वा कुनै माध्यमबाट हटाइने गरेको दाबी गर्छन् ।
प्रदेश २ मा गएको साउनयता १ हजार ६ सय ८५ सवारी दुर्घटना भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । जसमा १ सय ८७ जनाको ज्यान गएको र ७ सय ६० घाइते भए । अधिकांश सवारी दुर्घटना तीव्र गतिका कारण हुने गरेको डीएसपी जैसवाल बताउँछन् ।