सर्लाही,८ मङ्सिर //
सर्लाहीको बागमतीमा मंगलवार साँझ टाटासुमोले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा हरिवन नगरपालिका–७, का २५ वर्षीय देव मोक्तान र सोही ठाउँका २३ वर्षीय मिलन ब्लोन रहेका छन्।
बागमती नगरपालिका–१०, केराबारीमा कर्मैयाबाट बरहथवातर्फ गइरहेको बीआर ०५ पीए ७१९९ नम्वरको टाटासुमोले ज १२ प ९९०७ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परि घाइते भएका देवलाई नमूना अस्पताल हरिवन ल्याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए। यस्तै मिलनलाई थप उपचारका लागि गण्डक हेल्थ केयर वीरगञ्ज पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जानकारी दिएको छ ।
ठक्कर दिने टाटासुमो, त्यसका चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।