मुकेश कुमार साह,रौतहट ६ मंसिर। रौतहटको चन्द्रनिगाहपुरमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । करदाता सेवा कार्यलय चन्द्रपुरको आयोजना तथा चन्द्रपुर उद्योग बाणिज्य संघको सह आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
दशौँ रास्ट्रिय कर दिवसको उपलक्षमा स्वेच्छिक करमा सहभागितामा अभिवृद्धि :सुशासन,विकास र समृद्धि भन्ने मुल नाराको साथ कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा व्यवसायीहरुलाई आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख कर अधिकृत नारायण प्रसाद भण्डारीले व्यवसायीका विभिन्न समस्याहरु माथि प्रकाश पार्दै सदस्यहरुको समाधानका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा उहाँले हाल जिल्लामा देखिएका तथा आउने गरेका व्यवसायीको समस्याको प्रकृतिलाई प्रष्ट पार्नुभयो ।
त्यस्तै कार्यक्रममा कर अधिकृत भण्डारीले कारोबारको लेखा कसरी राख्ने, बिल, बिजक कसरी जारी गर्ने, कति कारोबार हुनेले कस्तो विवरण पेश गर्ने, विवरण तथा कर दाखिला कहिले गर्ने लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।
चन्द्रपुर उद्योग वाणिज्य संघका महासचिव सुनिल साहले यस्ता कार्यक्रम आयोजना गर्दा आम व्यवसायीहरुले विभिन्न कर छुट तथा परिवर्तित कर प्रणालि लगायतको विषयमा ज्ञान हासिल गर्न सक्ने बताउनुभयो ।
महासचिव साहले आगामी दिनमा पनि व्यवसायीको मागलाई मध्येनजर गरि व्यवसायीलाई फाईदा पुग्ने खालका विभिन्न कार्यक्रम संचालन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
चन्द्रपुरमा अवस्थित होटल तराई इनको सभाहलमा भएको कार्यक्रममा सम्पूर्ण साना तथा ठूला करदाता उद्योगी व्यवसायीहरुको उल्लेख्य उपस्थिती रहेकोे थियो ।