रौतहट , २ मङ्सिर //
कारागार भित्रै झुन्डिएर आत्महत्या गरेको लडाई साहको बिषयमा शिघ्र उच्च स्तरीय छानबीन गरि दोषीलाई कारवाही गर्न पुर्व मन्त्रि प्रभु साहले माग गरेका छन्।
रौतहटको देवाही गोनाही नपा – ७ निवासी साह निर्दोष रहेको बयान उजुर कर्ता सरकारी गवाहले नै दिँदा पनि जिल्ला अदालत रौतहटले कसुरदार ठहर गर्दै २१ वर्ष कैद सजाय तोकिएकोले मुद्दाको पुनरावेदन गरी कारागारमा बन्दी जीवन बिताइरहेकोमा निजले एकाएक आत्महत्या गरेकोले पुर्व मन्त्रि साहले यसको सत्य तथ्य छानविन गरि कारवाही गर्न माग गरेका हुन्।
कैद सजाय तोक्दा निजले निर्णयप्रति असन्तुष्टि प्रकट गर्दै मुद्दाको पुनरावेदन दिएकोले एकाएक आत्महत्या गर्नुको पछाडी ठुलै रहस्य भएको भन्ने उनको दावी छ।
उनले सामाजिक संजाल फेसबुक मा स्टाटस मार्फत गृह प्रशासनको भनाईले यस मुद्दाको प्रारम्भिक अनुसन्धानकर्तादेखि अभियोजनकर्ता, निरुपणकर्ता लगायत देशको समग्र राज्य व्यवस्था, न्यायालय र गृह प्रशासनमाथि नै अनेकन गम्भीर प्रश्नहरु खडा गरेको देखिएकोले गम्भीरतापूर्वक लिई शिघ्र उच्च स्तरीय छानबीन समिति खडा गरी घटना बारेको सत्य तथ्य विस्तृत विवरण बाहिर ल्याई दोषीलाई हदैसम्मको कानूनी कारवाहीको दायरामा ल्याउन नेपाल सरकार सहित समबन्धित पक्षसंग जोडदार माग गरेका छन् ।
लडाई साहले बुधबार कारागारको शौचालयमा घाँटीमा गम्सा बेरेर आत्महत्या गरेका थिए ।
उनलाई २०७५ साल माघ २६ गते नाबालिका अपहरण गरेर भारत पुर्याएको आरोपमा ईलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएको थियो।